Question | Answer |
---|---|
धानको बेर्ना रोपेपछि पानी धेरै दिनसम्म टिकाउन के गर्नुपर्ला ? | माटोलाई राम्रोसँग हिल्याएर एकनासले बाउसे (रोपाई गर्दा खेतको हिलो सम्याउने काम) गरेर हिलो माटो सम्याउनु पर्दछ । |
धानको बेर्नाको उमेर कति हुनुपर्दछ ? | छिटो पाक्ने जातको लागि ३ देखि ४ हप्तासम्मको बेर्ना र ढिलो पाक्ने जातको लागि ४ देखि ५ हप्ताको बेर्ना उपयुक्त हुन्छ । |
धानको बीउ दर कति हो ? | १.६ के.जी. प्रति कठ्ठा वा २.५ के.जी. प्रति रोपनी बीउ पर्याप्त हुन्छ । |
धानको बीउलाई के ले उपचार गर्नुपर्दछ ? | कार्बेन्डाजिम २.५ ग्राम प्रति कि.ग्रा. बीउका दरले उपचार गर्ने । बीउ छर्नुभन्दा ५ देखि ७ दिन अघि नै बीउ उपचार गर्नुपर्दछ । |
धानको बीउको लागि बीउ छनौट कसरी गर्ने ? | बीउ छान्दा १० लिटर पानीमा १.६५ कि.ग्रा. खाने नुन घोलेर तयार पारिएको घोलमा बीउलाई हाल्नुपर्दछ । यसो गर्दा पुष्ट र असल बीउ पिँधमा र कमसल बीउ पानीको सतहमा आउँछ । थिग्रिएको बीउलाई पानीबाट निकाली, सफा पानीले पखाल्नुपर्दछ र बीउको लागि प्रयोग गर्ने । |
धान कति किसिमले लगाउन सकिन्छ ? | धान तीन किसिमले लगाउन सकिन्छ:
|
धान खेतीको लागि उपयुक्त माटोको पी.एच. कति हो ? | धान खेतीको लागि माटोको पी.एच ६.५ देखि ७.५ उपयुक्त मानिन्छ । |
धान खेतीको लागि कस्तो माटो उपयुक्त हुन्छ ? | धान खेती बलौटे माटो बाहेक सबै प्रकारको माटोमा गरिन्छ । यसो भएता पनि पाँगोको मात्रा बढी भएको चिम्ट्याइलो दोमट मलिलो माटो राम्रो हुन्छ । |
बीउ उम्रनको लागि माटोमा न्युनतम तापक्रम कति आवश्यक हुन्छ ? | बीउ उम्रनको लागि माटोमा न्युनतम १० देखि १५ डिग्री सेन्टिग्रेड (डि.से.) तापक्रम आवश्यक हुन्छ । |
नेपालको तराइ तथा भित्री मधेशको लागि उपयुक्त धानका बर्णशंकर जातहरु के के हुन् ? | तराई तथा भित्री मधेशको लागि पन्जिकृत धानका बर्णशंकर जातहरुः डि.वाई १८, डि.वाई ६९, यु.एस. ३१२,एराईज ६४४४, गोरखनाथ ५०९ । |
हाईब्रिड धानका जातहरु भन्नाले के बुझिन्छ ? | दुई भिन्न आनुवांशिक श्रोत भएका धानहरु बीच क्रस गराएर निकालिएको प्रथम पुस्ताको धानका जातहरुलाई हाईब्रिड धान भनिन्छ । |
हालै मध्य पहाड र तल्लो पहाडको लागि सिफारिस गरिएको जात के हो ? | खुमल ८ धानको जात मध्य पहाड र तल्लो पहाडको लागि वि.सं. २०६३ सालमा सिफारिस गरिएको हो। |
खुमल १० धानको जातको विशेष गुणहरु के के छन् ? | पाक्ने अवधिः १३६ दिन, औसत उचाई १०५.८ से.मी, उत्पादकत्व ४७७८ के.जी. प्रति हेक्टर । ६० दिनसम्मको बेर्ना रोप्दा पनि राम्रो उत्पादन लिन सकिन्छ । असिन्चित क्षेत्रहरुको लागि उपयुक्त र छरुवा धानको रुपमा पनि खेति गर्न सकिने जस्ता गुणहरु रहेका छन्। |
खुमल १० धानको जात कुन क्षेत्रको लागि सिफारिस गरिएको छ ? | काठमाण्डौ उपत्यका र सो सरहको हावापानी भएको पहाडी क्षेत्रको लागि सिफारिस गरिएको छ । |
पोखरेली जेठोबुढो धानको जात कुन क्षेत्रको लागि सिफारिश गरिएको छ ? | यो बर्षे धान पोखरा उपत्यका र यस आसपासका क्षेत्रहरु (६०० देखि ९०० मिटर उचाई) को लागि सिफारिस गरिएको हो। |
जुम्ला वा सो सरहको क्षेत्रको लागि सिफारिस गरिएको धानका जातहरु के के छन् ? | चन्दननाथ १, चन्दननाथ ३ धान जुम्ला वा सो सरहको हावापानी हुने क्षेत्रको लागि सिफारिस गरिएको छ । |
हर्दिनाथ १ धानको जात कस्तो बाली प्रणालीमा लगाउन सकिन्छ ? | धान–धान–बाझो, धान–गहुँ–मकै, धान–मकै–धान, धान–आलु–प्याज, धान–गहुँ–धान । |
हर्दिनाथ 1 कस्तो क्षेत्रको लागि सिफारिस गरिएको हो ? | तराई, भित्री मधेश, रिभर बेसिन तथा ८०० मिटर सम्मको उचाईको लागि सिफारिस गरिएको हो । |
हर्दिनाथ १ धानको बिशेष गुणहरु के के छन् ? | छोटो पाक्ने अवधि (१०० देखि ११०) दिन, होचो (१०० देखि १०५ से.मी.) र उत्पादकत्व ४२०० के.जी. प्रति हेक्टर दिन सक्ने जस्ता गुणहरु रहेका छन्। |
तराई क्षेत्रको लागि चैते धानको जातहरु के के छन् | हर्दिनाथ १, चैते धान २, चैते धान ४, चैते धान ६, बिन्देश्वरी र सी.एच. ४५ जस्ता जातहरु चैते सिजनमा लगाउन सकिने जातहरु हुन्। |
बाढी आउने वा पानी बढी हुने जग्गाको लागि धानको कुन कुन जात उपयुक्त हुन्छ ? | स्वर्णा सब १, सावा सब १ जस्ता धानका जातहरु बाढी आउने तथा पानी जम्ने वा बढी हुने ठाउँका लागि उपयुक्त हुन्छ । यो धानको बेर्ना १० देखि १५ दिनसम्म पानीले डुबाउँदा पनि मर्दैन । |
तराईको लागि सुख्खा सहन सक्ने धानका जातहरु के के सिफारीस गरिएका छन् ? | तरहरा १, हर्दिनाथ २, सुख्खा धान १, सुख्खा धान २, सुख्खा धान ३, सुख्खा धान ४, सुख्खा धान ५, सुख्खा धान ६ लगायतका धानका उन्नत जातहरु सिफारीस गरिएका छन्। |