कृषि मौसम सल्लाह बुलेटिन (२४-३० असार, २०७९)

कृषि सारांश:
  •  २१-२५ दिन भैसकेको धानको बेर्ना प्रति रोपो २-३ वटाको दरले रोप्न सुरू गर्नुहोस्। हार देखी हार २० सेन्टिमिटर र रोपो देखी रोपो १५ सेन्टिमिटर दूरीमा र सूचिकृत गरिएका बर्णशंकर धान १ गोटा बेर्नाको दरले हार देखी हार २० सेन्टिमिटर र रोपो देखी रोपो २० सेन्टिमिटर दूरीमा रोप्नुहोस्।
  • रोपेको धानबालीमा झारपात ब्यवस्थापनको लागी ब्यूटाक्लोर २ के.जी. प्रति रोपनी वा ०.६ के.जी. प्रति कट्ठाको दरले धान रोपेको ५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा छर्नुहोस्।
  •  धानबालीमा झारपात व्यवस्थापनको लागी बिस्पाईरीबेक २५ लिटर पानीमा १२ एम.एल. दरले एक रोपनीमा वा १७ लिटरमा पानीमा ८ एम.एल. को दरले एक कठ्ठामा धान छरेको वा रोपेको १५-२५ दिनभित्र माटोमा छिपछिपे पानी भएको अवस्थामा स्प्रे गर्नुहोस्।
  • धानखेतमा गुबो मर्ने समस्या हुने भएकोले नियमित अनुगमन गर्नुहोस्। खेतमा ५% मृत गुवा वा प्रति मिटर कीराको फुलको एउटा झुण्ड वा प्रति मिटर एउटा बयस्क कीरा भएमा मात्र व्यवस्थापनका बिधिहरु अपनाउनुहोस्। वयष्क गबारो कीरा साँझको समयमा खेतमा वा राती बत्तीको आसपास देखिन्छ; यिनीहरुले पातको टुप्पोको तल्लो भागमा अण्डा पार्ने भएकोले अवलोकन गरि नष्ट गर्नुहोस्।
मौसमी सारांश:
  • गत साता देशभर धेरैजसो भू-भागहरुमा सरदर भन्दा कम वर्षा मापन गरिएको छ। गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको लुम्ले केन्द्रमा सबैभन्दा बढी ३22.9 मि.मि. वर्षा मापन भएको छ। देशको धेरैजसो भू-भागहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम २५ डि.से. भन्दा बढी र न्यूनतम तापक्रम १० डि.से. भन्दा बढी मापन गरिएको छ। तराईका केही भू-भागहरुमा ३५ डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम ११.१ डि.से. तापक्रम मापन भएको छ।
  • साताभरि नै देशभर आँशिक देखि सामान्य बदलीको संभावना छ।
  • साताको शुरूमा देशको हिमाली, पहाडी र तराईका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको साथै बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चटयाङ सहित भारी वर्षाको पनि संभावना रहेको र साताको मध्य तथा अन्त्यमा देशका हिमाली, पहाडी र तराईका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।
  • हिमाली भू-भागको अधिकतम तापक्रम तथा न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने तथा पहाडी र तराई भू-भागको अधिकतम तथा न्यूनतम तापक्रम हल्का घट्ने संभावना रहेको छ।