कृषि मौसम सल्लाह बुलेटिन (३१ असार-५ साउन, २०७९)

कृषि सारांश:
  • २१-२५ दिन भैसकेको धानको बेर्ना प्रति रोपो २-३ वटाको दरले रोप्न सुरू गर्नुहोस्। हार देखी हार २० सेन्टिमिटर र रोपो देखी रोपो १५ सेन्टिमिटर दूरीमा र सूचिकृत गरिएका बर्णशंकर धान १ गोटा बेर्नाको दरले हार देखी हार २० सेन्टिमिटर र रोपो देखी रोपो २० सेन्टिमिटर दूरीमा रोप्नुहोस्।
  • रोपेको धानबालीमा झारपात ब्यवस्थापनको लागी ब्यूटाक्लोर २ के.जी. प्रति रोपनी वा ०.६ के.जी. प्रति कट्ठाको दरले धान रोपेको ५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा छर्नुहोस्। 
  • धानबालीमा झारपात व्यवस्थापनको लागी बिस्पाईरीबेक २५ लिटर पानीमा १२ एम.एल. दरले एक रोपनीमा वा १७ लिटरमा पानीमा ८ एम.एल. को दरले एक कठ्ठामा धान छरेको वा रोपेको १५-२५ दिनभित्र माटोमा छिपछिपे पानी भएको अवस्थामा स्प्रे गर्नुहोस्।
  • धान रोपेको २-३ हप्तापछि खेतमा निरन्तर पानी जमेको अवस्थामा धानबालीमा फेद कुहिने रोग लाग्न हुनाले नियमित अवलोकन गरी रोगी बोटहरु उखेलेर नष्ट गर्नुहोस्।
  • धानखेतमा गुबो मर्ने समस्या हुने भएकोले नियमित अनुगमन गरी खेतमा ५% मृत गुवा वा प्रति मिटर कीराको फुलको एउटा झुण्ड वा प्रति मिटर एउटा बयस्क कीरा भएमा मात्र व्यवस्थापनका बिधिहरु अपनाउनुहोस्।
मौसमी सारांश:
  • गत साता देशभर धेरैजसो भू-भागहरुमा सरदर भन्दा कम वर्षा मापन गरिएको छ। गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको लुम्ले केन्द्रमा सबैभन्दा बढी २७१ मि.मि. वर्षा मापन भएको छ। देशको धेरैजसो भू-भागहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम २५ डि.से. भन्दा बढी र न्यूनतम तापक्रम १० डि.से. भन्दा बढी मापन गरिएको छ। तराईका धेरैजसो भू-भागहरुमा ३५ डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने मुस्ताङ जिल्लामा रहेको थाकमार्फा केन्द्रमा सबैभन्दा कम ६.६ डि.से. तापक्रम मापन भएको छ।
  • साताभरि नै देशको हिमाली भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहने संभावना रहेको छ।
  • साताको शुरू र मध्यमा देशको हिमाली र पहाडी भू-भागका केही र तराईका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। साताको अन्त्यमा देशको पहाडी भू-भागका धेरै तथा हिमाली र तराईका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। साथै साताको अन्त्यमा प्रदेश नं-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै र तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चटयाङ सहित भारी वर्षाको पनि संभावना रहेको छ।
  • हिमाली भू-भागमा अधिकतम तापक्रम र न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने संभावना छ। पहाडी र तराईका भू-भागमा न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने तर अधिकतम तापक्रम हल्का घट्ने संभावना रहेको छ।