कृषि मौसम सल्लाह बुलेटिन (६-१२ साउन, २०७९)
कृषि सारांश:
- २१-२५ दिन भैसकेको धानको बेर्ना प्रति रोपो २-३ वटाको दरले रोप्नुहोस्। हार देखी हार २० सेन्टिमिटर र रोपो देखी रोपो १५ सेन्टिमिटर दूरीमा र सूचिकृत गरिएका बर्णशंकर धान १ गोटा बेर्नाको दरले हार देखी हार २० सेन्टिमिटर र रोपो देखी रोपो २० सेन्टिमिटर दूरीमा रोप्नुहोस्।
- रोपेको धानबालीमा झारपात ब्यवस्थापनको लागी ब्यूटाक्लोर २ के.जी. प्रति रोपनी वा ०.६ के.जी. प्रति कट्ठाको दरले धान रोपेको ५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा छर्नुहोस्।
- धानबालीमा झारपात व्यवस्थापनको लागी बिस्पाईरीबेक २५ लिटर पानीमा १२ एम.एल. दरले एक रोपनीमा वा १७ लिटरमा पानीमा ८ एम.एल. को दरले एक कठ्ठामा धान छरेको वा रोपेको १५-२५ दिनभित्र माटोमा छिपछिपे पानी भएको अवस्थामा स्प्रे गर्नुहोस्।
- धान रोपेको २-३ हप्तापछि खेतमा निरन्तर पानी जमेको अवस्थामा धानबालीमा फेद कुहिने रोग लाग्न हुनाले नियमित अवलोकन गरी रोगी बोटहरु उखेलेर नष्ट गर्नुहोस्।
- धानखेतमा गुबो मर्ने समस्या हुने भएकोले नियमित अनुगमन गरी खेतमा ५% मृत गुवा वा प्रति मिटर कीराको फुलको एउटा झुण्ड वा प्रति मिटर एउटा बयस्क कीरा भएमा मात्र व्यवस्थापनका बिधिहरु अपनाउनुहोस्।
मौसमी सारांश:
- गत साता देशभर धेरैजसो भू-भागहरुमा सरदर भन्दा कम वर्षा मापन गरिएको छ। गण्डकी प्रदेशको लमजुङ जिल्लामा रहेको खुदीबजार केन्द्रमा सबैभन्दा बढी २६२ मि.मि. वर्षा मापन भएको छ। देशको धेरैजसो भू-भागहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम २५ डि.से. भन्दा बढी र न्यूनतम तापक्रम १० डि.से. भन्दा बढी मापन गरिएको छ। तराईका धेरैजसो भू-भागहरुमा ३५ डि.से. भन्दा बढी अधिकतम तापक्रम र २५ डि.से. भन्दा बढी न्यूनतम तापक्रम मापन गरिएको छ।
- साताभरि नै देशभर आंशिक देखि सामान्य बदली रहने संभावना रहेको छ।
- साताको शुरू र मध्यमा थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। साताको अन्त्यमा देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। साथै साताको अन्त्यमा बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चटयाङ सहित भारी वर्षाको पनि संभावना रहेको छ।
- देशका अधिकांश भू-भागमा अधिकतम तापक्रम हल्का घट्ने र न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने संभावना रहेको छ।