कृषि मौसम सल्लाह बुलेटिन (२०-२६ साउन, २०७९)

कृषि सारांश:
  •  वर्षे धानको टपड्रेसको लागि नेपाल कृषि अनुसन्धान परिषदबाट अध्यावधिक गरिएको सिफारिस युरियाको मात्रा प्रयोग गर्नुहोस्।
  • धानबालीमा झारपात व्यवस्थापनको लागी बिस्पाईरीबेक २५ लिटर पानीमा १२ एम.एल. दरले एक रोपनीमा वा १७ लिटरमा पानीमा ८ एम.एल. को दरले एक कठ्ठामा धान छरेको वा रोपेको १५-२५ दिनभित्र माटोमा छिपछिपे पानी भएको अवस्थामा स्प्रे गर्नुहोस्।
  •  धान रोपेको २-३ हप्तापछि खेतमा निरन्तर पानी जमेको अवस्थामा धानबालीमा फेद कुहिने रोग लाग्न हुनाले नियमित अवलोकन गरी रोगी बोटहरु उखेलेर नष्ट गर्नुहोस्।
  • धानखेतमा गुबो मर्ने समस्या हुने भएकोले नियमित अनुगमन गरी खेतमा ५% मृत गुवा वा प्रति मिटर कीराको फुलको एउटा झुण्ड वा प्रति मिटर एउटा बयस्क कीरा भएमा मात्र व्यवस्थापनका बिधिहरु अपनाउनुहोस्।
  •  धानबालीमा मरुवा रोग व्यवस्थापनको लागि कासु बी २ एम.एल. वा वीम १ ग्राम वा हेक्जाकोनाजोल २ एम.एल. प्रति लिटर पानीका दरले १०-१२ दिनको फरकमा बोटको सम्पूर्ण पातहरु भिज्नेगरि छर्केर उपचार गर्नुहोस्।
मौसमी सारांश:
  • गत साता देशभर धेरैजसो भू-भागहरुमा सरदर भन्दा बढी वर्षा मापन गरिएको छ। कास्की जिल्लामा रहेको पोखरा एयरपोर्ट केन्द्रमा सबैभन्दा बढी ५४५.७ मि.मि. वर्षा मापन भएको छ। देशको धेरैजसो भू-भागहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम २५ डि.से. भन्दा बढी र न्यूनतम तापक्रम ५ डि.से. भन्दा बढी मापन गरिएको छ। तराईका अधिकांश भू-भागहरुमा ३० डि.से. भन्दा बढी अधिकतम तापक्रम र २५ डि.से. भन्दा बढी न्यूनतम तापक्रम मापन गरिएको छ।
  • देशैभर साताभरि नै आंशिक देखि सामान्य बदली रहने संभावना रहेको छ।
  • देशैभर साताको शुरू तथा मध्यमा केही स्थानहरूमा र अन्त्यमा थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।
  •  साताको शुरूमा देशभरिका एक वा दुई स्थानमा र मध्यमा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग भारी वर्षाको संभावना रहेको छ। साथै साताको अन्त्यमा सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन र चटयाङ सहित भारी वर्षाको पनि संभावना रहेको छ।
  •  देशका अधिकांश भू-भागमा अधिकतम तापक्रम हल्का बढ्ने र न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने संभावना रहेको छ।