कृषि मौसम सल्लाह बुलेटिन (१७-२३ भदौ, २०७९)
कृषि सारांश:
- वर्षे धानको टपड्रेसको लागि नेपाल कृषि अनुसन्धान परिषदबाट अध्यावधिक गरिएको सिफारिस युरियाको मात्रा प्रयोग गर्नुहोस्। युरिया मलको विकल्पको रुपमा नानो झोल युरिया ४ एम.एल. प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्नेगरी टपड्रेस गर्ने समयमा छर्कनुहोस्। धानमा टपड्रेस गरिसकेपछि कम्तीमा २४ घण्टासम्म खेतबाट पानी बग्न नदिनुहोस्।
- धानखेतमा पात वेरुवा कीराको नोक्सानी कम गर्न अल्फामेथ्रिन २ एम.एल. प्रति लिटर पानीको दरमा धानको पात भिज्नेगरि साँझको समयमा छर्नुहोस्।
- धानखेतमा गुबो मर्ने समस्या हुने भएकोले नियमित अनुगमन गर्नुहोस्। गबारो कीराले पातको टुप्पोको तल्लो भागमा अण्डा पार्ने भएकोले अवलोकन गरी नष्ट गर्नुहोस्।
- धानबालीमा मरुवा रोग व्यवस्थापनको लागि नाइट्रोजनयुक्त मल जस्तै-युरिया मात्र बढी प्रयोग नगरी फोस्फोरस र पोटास पनि सिफारिस मात्रामा प्रयोग गर्नुहोस्। यो रोग पातहरुमा देखिएमा कासु-बी २ एम.एल. वा वीम १ ग्राम वा हेक्जाकोनाजोल २ एम.एल. प्रति लिटर पानीका दरले १०-१२ दिनको फरकमा बोटको सम्पूर्ण पातहरु भिज्नेगरि छर्केर उपचार गर्नुहोस्।
मौसमी सारांश:
- गत साता देशभर धेरैजसो भू-भागहरुमा सरदर भन्दा बढी वर्षा मापन गरिएको छ। वर्षा मापन भएका केन्द्रहरु मध्ये सबैभन्दा बढी गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको लुम्ले केन्द्रमा ५०८.८ मि.मि. वर्षा मापन भएको छ। तराईका अधिकांश भू-भागहरुमा ३० डि.से. र गण्डकी प्रदेशको नवलपुर जिल्लामा रहेको दुम्कौली केन्द्रमा सबैभन्दा बढी ३५.८ डि.से. तापक्रम मापन गरिएको छ। तराईका अधिकांश भू-भागहरुमा न्यूनतम तापक्रम २५ डि.से. भन्दा बढी मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम १०.७ डि.से. तापक्रम मापन भएको छ।
- साताको शुरूमा सामान्य बदली रहे पनि साताको मध्य र अन्त्यमा आंशिक देखि सामान्य बदली रहने संभावना छ।
- साताको शुरूमा प्रदेश नं-१, बागमती प्रदेश, र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको संभावना छ।
- लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकतम तथा न्यूनतम तापक्रम बढ्ने संभावना छ।