कृषि मौसम सल्लाह बुलेटिन (३१ भदौ - ६ असोज, २०७९)
कृषि सारांश:
- धानखेतमा पतेरो कीराले धेरै नोक्सानी गर्ने भएकोले नियमीत अनुगमन गर्नुहोस्।
- धानखेतमा गुबो मर्ने समस्या हुने भएकोले नियमित अनुगमन गर्नुहोस्। गबारो कीराले पातको टुप्पोको तल्लो भागमा अण्डा पार्ने भएकोले अवलोकन गरी नष्ट गर्नुहोस्।
- धानबालीमा मरुवा रोग व्यवस्थापनको लागि नाइट्रोजनयुक्त मल जस्तै-युरिया मात्र बढी प्रयोग नगरी फोस्फोरस र पोटास पनि सिफारिस मात्रामा प्रयोग गर्नुहोस्। यो रोग पातहरुमा देखिएमा कासु-बी २ एम.एल. वा वीम १ ग्राम वा हेक्जाकोनाजोल २ एम.एल. प्रति लिटर पानीका दरले १०-१२ दिनको फरकमा बोटको सम्पूर्ण पातहरु भिज्नेगरि छर्केर उपचार गर्नुहोस्।
मौसमी सारांश:
- गत साता देशका केही केन्द्रहरुमा सरदर भन्दा बढी वर्षा मापन गरिएको छ। वर्षा मापन भएका केन्द्रहरु मध्ये सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित दार्चुला नयाँ केन्द्रमा ३०१.५ मि.मि. वर्षा मापन भएको छ। तराईका अधिकांश भू-भागहरुमा ३० डि.से. र गण्डकी प्रदेशको नवलपुर जिल्लामा रहेको दुम्कौली केन्द्रमा सबैभन्दा बढी ३६ डि.से. तापक्रम मापन गरिएको छ। तराईका केही भू-भागहरुमा २५ डि.से. भन्दा बढी तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम ९ डि.से. तापक्रम मापन भएको छ।
- देशका अधिकांश भू-भागमा साताको शुरू र अन्त्यमा सामान्य देखि पूर्ण बदली तथा साताको मध्यमा आंशिक देखि सामान्य बदलीको संभावना रहेको छ।
- साताको शुरुमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहनुका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी देखि धेरै भारी वर्षाको संभावना रहेको छ।
- साताको मध्य र अन्तमा देशका पहाडी भू-भागका केही स्थानहरुमा र तराई भू-भागका थोरै स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहनुका साथै साताको मध्यमा मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ।
- गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भू-भागमा साताको शुरुमा अधिकतम तथा न्यूनतम तापक्रम केही घट्ने र साताको मध्य तथा अन्त्यमा उल्लेखनिय परिवर्तन नहुने संभावना छ।
- प्रदेश नं-१, मधेश प्रदेश र बागमती प्रदेशमा साताभरि नै अधिकतम तथा न्यूनतम तापक्रममा उल्लेखनिय परिवर्तन नहुने संभावना छ।