कृषि मौसम सल्लाह बुलेटिन (असोज १४-२०, २०७९)
कृषि सारांश:
- साताको मध्यमा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी देखि धेरै भारी वर्षा र कर्णाली तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको संभावना रहेकोले खेत, बारी र बगैँचामा पानी निकासको उचित प्रवन्ध गर्नुहोस्।
- धानबालीमा बाला पसाएपछि दुध भरिने अवस्थामा पतेरो कीराको प्रकोप देखिने हुँदा नोक्सानी कम गर्नको लागी खेतभित्र तथा वरपरको झारपात गोडमेल गरी पतेरोको बैकल्पिक आश्रय नष्ट गर्ने; प्रकाश पासोको प्रयोग गरि बयस्क कीरालाइ मार्ने तथा डर्टी ट्रयापको प्रयोग गर्नुहोस्।
- धानखेतमा गुबो मर्ने समस्या हुने भएकोले नियमित अनुगमन गर्नुहोस्। गबारो कीराले पातको टुप्पोको तल्लो भागमा अण्डा पार्ने भएकोले अवलोकन गरी नष्ट गर्नुहोस्।
मौसमी सारांश:
- गत साता देशका धेरैजसो केन्द्रहरुमा सरदर भन्दा बढी वर्षा मापन गरिएको छ। सुदूरपश्चिम प्रदेशको कैलIली जिल्लामा रहेको चिसापानी कर्णाली केन्द्रमा सबैभन्दा बढी ४९०.१ मि.मि. वर्षा मापन भएको छ। तराईका धेरैजसो भू-भागहरुमा ३० डि.से. भन्दा बढी र गण्डकी प्रदेशको नवलपुर जिल्लामा रहेको दुम्कौली केन्द्रमा सबैभन्दा बढी ३६ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम ९ डि.से. न्यूनतम तापक्रम मापन भएको छ।
- साताको शुरु र अन्त्यमा अधिकांश स्थानमा आंशिक देखि सामान्य बदली र साताको मध्यमा सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशमा सामान्य देखि पूर्णतया बदलीको संभावना छ।
- साताको शुरुमा देशका केही स्थानमा हल्का देखि मध्यम वर्षा; साताको मध्यमा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना साथै सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी देखि धेरै भारी वर्षा र कर्णाली तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको संभावना छ।
- साताको अन्त्यमा सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक-दुई स्थान र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना छ।
- साताको मध्यमा देशका धरै भू-भागमा अधिकतम तापक्रम केही घट्ने र साताको अन्त्यमा न्यूनतम तापक्रम केही घट्ने संभावना छ।