कृषि मौसम सल्लाह बुलेटिन (४-१० कार्तिक २०७९)
कृषि सारांश:
- साताको मध्यमा प्रदेश नं-१ र मधेश प्रदेशमा हाल बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली चक्रवातमा परिणत भई आंशिक देखि सामान्य बदली भई थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना भएकोले पाकेको धानबाली मौसमको अवस्था हेरी भित्र्याउनुहोस्।
- धानको बीउ छनोटको लागि बोट नढलेका, एकनासले पाकेका, रोग नलागेका पुष्ट बाला संकलन गरेर चुटानी गरी राम्रोसँग घाममा सुकाएर भण्डारण गर्नुहोस्।
- धानको कालोपोके रोग र उड्बट्टा रोग अथवा सिन्के धुप रोगको व्यवस्थापनको लागि खेतमा रहेका रोगी बोटका बालाहरु नष्ट गर्नुहोस्। साथै त्यस्तो बोटबाट बीउ नछान्नुहोस्।
मौसमी सारांश:
- गत साता देशका केहि भू-भागहरुमा वर्षा भएको छ भने धेरैजसो केन्द्रहरुमा सरदर भन्दा कम वर्षा मापन गरिएको छ। गण्डकी प्रदेशको स्याङ्जा जिल्लामा रहेको स्याङ्जा केन्द्रमा सबैभन्दा बढी २७.4 मि.मि. वर्षा मापन भएको छ। देशको केही उच्च पहाडी भू-भागहरु बाहेकका अन्य अधिकांश भू-भागहरुमा 2० डि.से. भन्दा बढी साथै गण्डकी प्रदेशको नवलपुर जिल्लामा रहेको दुम्कौली केन्द्रमा सबैभन्दा बढी ३४ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा रहेको जोमसोम केन्द्रमा सबैभन्दा कम ०.३ डि.से. न्यूनतम तापक्रम मापन भएको छ।
- साताको सुरुवातमा सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा मौसम रहनेछ।
- साताको मध्यमा प्रदेश नं-१ र मधेश प्रदेशमा हाल बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली चक्रवातमा परिणत भई आंशिक देखि सामान्य बदली भई थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ।
- साताको मध्यमा प्रदेश नं-१, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। साताको अन्त्यमा देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
- साताको शुरुमा सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको संभावना छ।
- साताको मध्यमा प्रदेश नं-१ र मधेश प्रदेशका थोरै स्थानहरु तथा बागमती प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको संभावना छ।
- साताको अन्त्यमा देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको संभावना छ।
- आगामी साता अधिकतम र न्यूनतम तापक्रम हल्का घट्ने संभावना छ।