कृषि मौसम सल्लाह बुलेटिन (१८-२४ कार्तिक, २०७९)

कृषि सारांश:
  • धानको बीउ छनोटको लागि बोट नढलेका, एकनासले पाकेका, रोग नलागेका पुष्ट बाला संकलन गरेर चुटानी गरी राम्रोसँग घाममा सुकाएर भण्डारण गर्नुहोस्।
मौसमी सारांश:
  • गत साता देशको थोरै स्थानहरुमा वर्षा मापन भएको छ भने अधिकांश केन्द्रहरुमा सरदर भन्दा कम वर्षा मापन गरिएको छ। गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको लुम्ले केन्द्रमा सबैभन्दा बढी ५.५ मि.मि वर्षा मापन भएको छ। देशको केही उच्च पहाडी भू-भागहरु बाहेकका अन्य अधिकांश भू-भागहरुमा 2५.0 डि.से. भन्दा बढी साथै मधेश प्रदेशको सिराहा जिल्लामा रहेको सिराहा केन्द्रमा सबैभन्दा बढी ३३ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा रहेको जोमसोम केन्द्रमा सबैभन्दा कम -१.१ डि.से. न्यूनतम तापक्रम मापन भएको छ।
  • हिमाली भू-भागहरूमा साताको शुरु र अन्त्यमा आंशिक देखि मौसम सामान्यतया सफा रही मध्यमा आंशिक देखि सामान्य बदली रहने संभावना छ। साताको शुरु र अन्त्यमा एक-दुई स्थानमा र मध्यमा थोरै स्थानहरुमा हल्का वर्षा/हिमपातको संभावना छ। पहाडी तथा तराई भूभागहरूमा वर्षाको संभावना न्यून छ।
  • देशका पहाडी भू-भागमा साताको शुरु र अन्त्यमा आंशिक बदली रही मध्यमा आंशिक देखि सामान्य बदली रहने संभावना छ। साताको शुरु र अन्त्यमा एक-दुई स्थानमा र मध्यमा थोरै स्थानहरुमा छिटपुट देखि हल्का वर्षाको संभावना रहेको छ।
  • देशको तराई भ-भागमा साताभरी नै आंशिक देखि मौसम सामान्यतया सफा रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साताको मध्यमा एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको संभावना रहेको छ।
  • अधिकतम र न्यूनतम तापक्रम हल्का घट्ने संभावना छ।