कृषि मौसम सल्लाह बुलेटिन (२-८ मङ्सिर, २०७९)
कृषि सारांश:
- धानको बीउ छनोटको लागि बोट नढलेका, एकनासले पाकेका, रोग नलागेका पुष्ट बाला संकलन गरेर चुटानी गरी राम्रोसँग घाममा सुकाएर भण्डारण गर्नुहोस्।
- कम्बाईन हार्भेष्टरले धान काट्दा खेतमा छोडेको पराल जलाउदा खेत र वातावरणमा प्रतिकुल प्रभाव पार्ने तथा पशु आहारामा समेत असर पार्ने हुँदा बेलर मेसिन अथवा अन्य विधिहरु बाट पराल जम्मा गर्नुहोस्। साथै यस्ता खेतमा टर्बो सिडर प्रयोग गरी गहुँ छरी लागत खर्च घटाउनुहोस्।
मौसमी सारांश:
- गत साता देशको थोरै भू-भागहरुमा बर्षा मापन भएको छ भने गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा रहेको लेते केन्द्रमा सबैभन्दा बढी ११.५ मि.मि. वर्षा मापन भएको छ। तराईका केही भू-भागहरुमा अधिकतम तापक्रम ३० डि.से. भन्दा बढी मापन गरिएको छ भने गण्डकी प्रदेश को नवलपुर जिल्लामा रहेको दुम्कौली केन्द्रमा सबैभन्दा बढी ३१.1 डि.से. मापन गरिएको छ। उच्च पहाडी भू-भागको धेरै स्थानहरुमा न्यूनतम तापक्रम शुन्य डि.से. भन्दा कम मापन गरिएको छ भने गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम -३.७ डि.से. मापन भएको छ।
- हिमाली भू-भागहरूमा साताभरी नै आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। पूर्वी हिमाली भू-भागको एक-दुई स्थानमा साताभरी नै हल्का वर्षा/हिमपातको संभावना रहेको छ।मध्य र पश्चिमी हिमाली भू-भागहरूमा साताको शुरू र मध्यमा मात्र एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको संभावना रहेको छ।
- देशका पहाडी भू-भागमा साताभरी नै आंशिक देखि मौसम सामान्यतया सफा रही साताको शुरूमा प्रदेश नं-१ को एक-दुई स्थानमा छिटपुट/हल्का वर्षाको संभावना रहेको छ।
- देशको तराई भू-भागमा साताभरी नै मौसम सामान्यतया सफा रही बिहान क्षणिक हुस्सु/कुहिरोको लाग्ने संभावना रहेको छ।
- देशको धेरैजसो स्थानहरुको अधिकतम र न्यूनतम तापक्रम हल्का घट्ने संभावना छ।