कृषि मौसम सल्लाह बुलेटिन (९-१५ मङ्सिर, २०७९)

कृषि सारांश:
  • कम्बाईन हार्भेष्टरले धान काट्दा खेतमा छोडेको पराल जलाउदा खेत र वातावरणमा प्रतिकुल प्रभाव पार्ने तथा पशु आहारामा समेत असर पार्ने हुँदा बेलर मेसिन अथवा अन्य विधिहरु बाट पराल जम्मा गर्नुहोस्। साथै यस्ता खेतमा टर्बो सिडर प्रयोग गरी गहुँ छरी लागत खर्च घटाउनुहोस्।
मौसमी सारांश:
  • गत साता गण्डकी प्रदेशको थोरै भू-भागहरुमा ५ मि.मि. भन्दा कम बर्षा मापन भएको छ भने गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको पोखरा एयरपोर्ट केन्द्रमा सबैभन्दा बढी १.५ मि.मि. वर्षा मापन भएको छ। तराईका एक-दुई भू-भागमा ३० डि.से. भन्दा बढी तापक्रम मापन गरिएको छ। प्रदेश नं-१ को झापा जिल्लामा रहेको दमक केन्द्रमा सबैभन्दा बढी ३०.३ डि.से. तापक्रम मापन गरिएको छ। उच्च पहाडी भू-भागको धेरै स्थानहरुमा शुन्य डि.से. भन्दा कम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम -४.३ डि.से. तापक्रम मापन भएको छ।
  • देशका हिमाली भू-भागहरूमा साताभरी नै आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं-१ र गण्डकी प्रदेशका हिमाली भू-भागको एक-दुई स्थानमा साताको मध्य र अन्त्यमा हल्का वर्षा/हिमपातको संभावना छ।
  • देशका पहाडी भू-भागमा साताभरी नै मौसम सामान्यतया सफा रहनेछ।
  • देशको तराई भू-भागमा साताभरी नै मौसम सामान्यतया सफा रही बिहान हुस्सु/कुहिरो लाग्ने संभावना छ।
  • देशको धेरैजसो स्थानहरूको अधिकतम र न्यूनतम तापक्रम हल्का घट्ने संभावना छ।