कृषि मौसम सल्लाह बुलेटिन (१६-२२ वैशाख, २०७९)
कृषि सारांश:
- चैते धानमा झारपात व्यवस्थापनको लागि झारनाशक विषादी बिस्पाएरिबेक १०% ई.सी., २५ लिटर पानीमा १२.५ मिलिलिटरको दरले मिसाएर प्रति रोपनीमा अथवा १७ लिटर पानीमा ८.३ मिलिलिटरको दरले मिसाएर प्रति कठ्ठामा धान रोपेको १५ देखि २५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा फ्लेट फेन नोजलले स्प्रे गर्नुहोस्।
मौसमी सारांश:
- गत साता देशको विभिन्न भू-भागहरुमा सरदर भन्दा कम वर्षा मापन भएको छ। गण्डकी प्रदेशको मुस्ताङ्ग जिल्लामा रहेको लेते केन्द्रमा सबैभन्दा बढी ३५.३ मि.मि. वर्षा मापन भएको छ। देशको केही उच्च पहाडी भू-भागहरु बाहेकका अन्य धेरैजसो भू-भागहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम २५ डि.से. भन्दा बढी र न्यूनतम तापक्रम २० डि.से. भन्दा कम मापन गरिएको छ। साथै तराईको धेरैजसो भू-भागहरुमा ३५ डि.से. भन्दा बढी अधिकतम तापक्रम र २० डि.से. भन्दा बढी न्यूनतम तापक्रम मापन गरिएको छ।
- प्रदेश नं-१, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भेगमा साताको शुरु तथा मध्यमा थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा/हिमपातको संभावना र साताको अन्त्यमा एक वा दुई स्थानमा हल्का वर्षा/हिमपातको संभावना छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको हिमाली भेगमा साताको शुरु, मध्य र अन्त्यमा एक वा दुई स्थानमा हल्का वर्षा/हिमपातको संभावना छ।
- प्रदेश नं-१, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा साताको शुरु र मध्यमा केही स्थानहरुमा र साताको अन्त्यमा एक वा दुई स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको शुरु, मध्य र अन्त्यमा एक वा दुई स्थानमा मेघगर्जन/चटयाङ सहित हल्का देखि मध्यम वर्षाको संभावना छ।
- प्रदेश नं-१, बागमती, गण्डकी र मधेश प्रदेशका तराईका भू-भागहरुमा साताको शुरू र मध्यमा थोरै स्थानहरुमा र अन्त्यमा एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साताको शुरु, मध्य र अन्त्यमा एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग हल्का वर्षाको संभावना छ।
- देशका अधिकांस भू-भागहरुमा न्यूनतम तथा अधिकतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने संभावना रहेको छ।