कृषि मौसम सल्लाह बुलेटिन (६-१२ जेष्ठ, २०७९)
कृषि सारांश:
- चैते धानमा पतेरो कीरा लाग्ने समय भएकोले नियमीत अनुगमन गर्नुहोस्। प्रकोप ज्यादा भएमा मालाथियन ५०% ई.सी. वा साइपरमेथ्रीन २५% ई.सी., २.० एम.एल. प्रति लिटर पानीका दरले बोट राम्ररि भिज्नेगरि साँझको समयमा छर्नुहोस्।
- धानबालीमा मरुवा रोग व्यवस्थापनको लागि वीम वा अन्य कुनै ट्राइसाइक्ल्याजोल युक्त विषादी १ ग्राम प्रति लिटर पानीको दरले वा कासु वी २ मिलिलिटर प्रति लिटर पानीमा मिसाई ७-१० दिनको अन्तरालमा २ पटक छर्नुहोस्।
- वर्षे धानबालीवाट राम्रो उत्पादन लिन आफुले लगाउन चाहेको ठाँउ अनुसारको सिफारिस गरिएका धानका उन्नत जातको बीउ भरपर्दो श्रोतबाट समयमा नै व्यवस्था गर्नुहोस्।
मौसमी सारांश:
- गत साता देशको अधिकांश भू-भागहरुमा सरदर भन्दा बढी वर्षा मापन भएको छ। गण्डकी प्रदेशको तनहुँ जिल्लामा रहेको खैरिनिटार केन्द्रमा सबैभन्दा बढी १०९.४ मि.मि. वर्षा मापन भएको छ। देशको केही उच्च पहाडी भू-भागहरु बाहेकका अन्य धेरैजसो भू-भागहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम २५.0 डि.से. भन्दा बढी र न्युनतम तापक्रम २०.0 डि.से. भन्दा कम मापन गरिएको छ। अधिकांश तराईका भू-भागहरुमा ३०.० डि.से. भन्दा बढी अधिकतम तापक्रम र २० डि.से. भन्दा बढी न्यूनतम तापक्रम मापन गरिएको छ।
- साताको सुरु र मध्यतिर देशभर आंशिक देखि सामान्य बदली रहि केहि स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साताको अन्त्यतिर प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। साताको अन्त्यतिर तराईका भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
- देशका अधिकांस भू-भागहरुमा न्यूनतम तथा अधिकतम तापक्रम हल्का बढ्ने सम्भावना रहेको छ।