कृषि मौसम सल्लाह बुलेटिन (२०-२६ जेष्ठ, २०७९)
कृषि सारांश:
- धान खेतीमा लागत न्यूनीकरण गर्न यान्त्रीकरण प्रविधिहरु जस्तै: राइस ट्रान्सप्लान्टर, ड्रम सिडर, सुख्खा छरुवा धान खेती प्रयोग गर्नुहोस्।
- वर्षे धानको ब्याड तयारीको लागि राम्ररी पाकेको गोबरमल/कम्पोस्ट मल २०-२५ डोको प्रति कट्ठा वा ३०-३५ डोको प्रति रोपनीका दरले माटोमा राम्ररी मिलाई १.६ के.जी. बीउ प्रति कट्ठा वा २.५ के.जी. बीउ प्रति रोपनीका दरले (१० वर्ग मिटरमा १ के.जी. बीउका दरले) प्रयोग गर्नुहोस्।
- धानबालीमा मरुवा रोग व्यवस्थापनको लागि वीम वा अन्य कुनै ट्राइसाइक्ल्याजोल युक्त विषादी १ ग्राम प्रति लिटर पानीको दरले वा कासु वी २ मिलिलिटर प्रति लिटर पानीमा मिसाई ७-१० दिनको अन्तरालमा २ पटक छर्नुहोस्।
मौसमी सारांश:
- गत साता देशभर नै वर्षा मापन भएको छ। वर्षा मापन भएका धेरैजसो केन्द्रहरुमा सरदर भन्दा कम वर्षा मापन गरिएको छ। मधेस प्रदेशको सप्तरी जिल्लामा रहेको फत्तेपुर केन्द्रमा १७९.१ मि.मि. वर्षा मापन भएको छ। देशको केही उच्च पहाडी भू-भागहरु बाहेकका अन्य धेरैजसो भू-भागहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम २५ डि.से. भन्दा बढी र न्युनतम तापक्रम १० डि.से. भन्दा बढी मापन गरिएको छ। अधिकांश तराईका भू-भागहरुमा ३० डि.से. भन्दा बढी अधिकतम तापक्रम र २० डि.से. भन्दा बढी न्यूनतम तापक्रम मापन गरिएको छ।
- हिमाली भूभागका एक-दुई देखि थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
- पहाडी भूभागमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेशको पहाडी भूभागमा मध्यम वर्षा र गण्डकी प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना छ।
- तराई भूभागमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ। प्रदेश नं. १ को तराई भूभागमा मध्यम वर्षाको सम्भावना छ।
- सुदूरपश्चिम र कर्णाली प्रदेशमा तापक्रम केहि बढ्ने सम्भावना छ।