कृषि मौसम सल्लाह बुलेटिन (२७ जेष्ठ-२ असार)
कृषि सारांश:
- धान खेतीमा लागत न्यूनीकरण गर्न यान्त्रीकरण प्रविधिहरु जस्तै: राइस ट्रान्सप्लान्टर, ड्रम सिडर, सुख्खा छरुवा धान खेती प्रयोग गर्नुहोस्।
- वर्षे धानको ब्याड तयारीको लागि राम्ररी पाकेको गोबरमल/कम्पोस्ट मल २०-२५ डोको प्रति कट्ठा वा ३०-३५ डोको प्रति रोपनीका दरले माटोमा राम्ररी मिलाई १.६ के.जी. बीउ प्रति कट्ठा वा २.५ के.जी. बीउ प्रति रोपनीका दरले (१० वर्ग मिटरमा १ के.जी. बीउका दरले) प्रयोग गर्नुहोस्।
मौसमी सारांश:
- गत साता देशका धेरैजसो भू-भागहरुमा सरदर भन्दा कम वर्षा मापन गरिएको छ। गण्डकी प्रदेशको तनहुँ जिल्लामा रहेको दमौली केन्द्रमा २७८.८ मि.मि. वर्षा मापन भएको छ। देशको केही उच्च पहाडी भू-भागहरु बाहेकका अन्य धेरैजसो भू-भागहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम २५.० डि.से. भन्दा बढी र न्युनतम तापक्रम १0.0 डि.से. भन्दा बढी मापन गरिएको छ। अधिकांश तराईका भू-भागहरुमा ३०.० डि.से. भन्दा बढी अधिकतम तापक्रम र २० डि.से. भन्दा बढी न्यूनतम तापक्रम मापन गरिएको छ।
- यो वर्षको मनसुन जेठ २२ गतेदेखि देशको पूर्वी भू-भागबाट प्रबेश गरी क्रमश: पश्चिम तिर फैलने क्रममा रहेको छ।
- साता भरि नै प्रदेश नं. १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको समेत सम्भावना रहेको छ। अन्य प्रदेशका पहाडी भेगका केहि स्थानहरुमा हल्का वर्षाको समेत सम्भावना रहेको छ।
- प्रदेश नं. १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुको अधिक्तम तापक्रममा केहि गिरावट आउने र न्युनतम तापक्रममा खासै परिवर्तन नहुने सम्भावना रहेको छ।साथै लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशको तराई भू-भागको अधिक्तम तथा न्यूनतम तापक्रममा खासै परिवर्तन हुने सम्भावना छैन।