कृषि मौसम सल्लाह बुलेटिन (३-९ असार, २०७९)
कृषि सारांश:
- धान खेतीमा लागत न्यूनीकरण गर्न यान्त्रीकरण प्रविधिहरु जस्तै: राइस ट्रान्सप्लान्टर, ड्रम सिडर, सुख्खा छरुवा धान खेती प्रयोग गर्नुहोस्।
- २१-२५ दिन भैसकेको धानको बेर्ना प्रति रोपो २-३ वटाको दरले रोप्न सुरू गर्नुहोस्। हार देखि हार २० सेन्टिमिटर र रोपो देखी रोपो १५ सेन्टिमिटर दूरीमा र सूचिकृत गरिएका बर्णशंकर धान १ गोटा बेर्नाको दरले हार देखि हार २० सेन्टिमिटर र रोपो देखी रोपो २० सेन्टिमिटर दूरीमा रोप्नुहोस्।
- रोपेको धानबालीमा झारपात ब्यवस्थापनको लागी ब्यूटाक्लोर २ के.जी प्रति रोपनी वा ०.६ के.जी प्रति कट्ठाको दरले धान रोपेको ५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा छर्नुहोस्।
मौसमी सारांश:
- गत साता देशका अधिकांश भू-भागहरुमा सरदर भन्दा कम वर्षा मापन गरिएको छ। गण्डकी प्रदेशको तनहुँ जिल्लामा रहेको खैरेनीटार केन्द्रमा २५५.७ मि.मि. वर्षा मापन भएको छ। देशको केही उच्च पहाडी भू-भागहरु बाहेकका अन्य धेरैजसो भू-भागहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम २५ डि.से. भन्दा बढी र न्युनतम तापक्रम १0 डि.से. भन्दा बढी मापन गरिएको छ। अधिकांश तराईका भू-भागहरुमा ३० डि.से. भन्दा बढी अधिकतम तापक्रम र २० डि.से. भन्दा बढी न्यूनतम तापक्रम मापन गरिएको छ।
- साताको शुरुमा उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानहरूमा र मध्य तथा अन्त्यमा केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात/वर्षाको संभावना छ।
- साताको शुरुमा पहाडी भू-भागका धेरै र मध्य तथा अन्त्यमा केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको संभावना छ।
- साताको शुरुमा मधेश प्रदेश, प्रदेश नं-१, बागमती प्रदेश र गण्डकी प्रदेशका तराईका धेरै भू-भागहरु र बाँकी प्रदेशका तराईका केही भू-भागहरूमा हल्का देखि मध्यम वर्षाको संभावना छ। साताको मध्य तथा अन्त्यमा मधेश प्रदेश, प्रदेश नं-१, बागमती प्रदेश र गण्डकी प्रदेशका तराईका केही भू-भागहरु र बाँकी प्रदेशका तराईका थोरै भू-भागहरूमा हल्का देखि मध्यम वर्षाको संभावना छ।
- साताको शुरुमा प्रदेश नं-१, मधेश प्रदेश, बागमती प्रदेश तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत संभावना छ।
- साताको अन्त्यमा न्यूनतम तथा अधिकतम तापक्रम हल्का बढ्ने सम्भावना छ।